वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला कार्यसमितिले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न स्थानीय तहमा विशेष जिम्मेवारी बाँडफाँट गरेको छ।
पार्टीले वीरगन्ज महानगरपालिकासहित विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा नेताहरुलाई कार्यक्षेत्र तोकेर परिचालन गरेको हो।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० र ३१ को जिम्मेवारी जिल्ला सदस्य पूर्णबहादुर सापकोटा, क्षेत्र नम्बर १ का उपसभापति रामहरी उपाध्याय, महानगर सदस्य कमला भुजेल र प्रमोद पटेललाई दिइएको छ।
यसैगरी महानगरकै वडा नम्बर ८, ९, १० र १७ मा प्रदेश संगठन उपप्रमुख प्रमोद रायमाझी, जिल्ला सदस्य प्रियंका पटेल, क्षेत्र नम्बर २ का सचिव किसन साह, सदस्य विजय यादव, महानगर उपसभापति परितोष द्विवेदी र सन्दिप कुशवाहालाई खटाइएको छ।
जिल्लाको अन्य पालिकातर्फ बहुदरमाई र पर्सागढी नगरपालिकामा जिल्ला उपसभापति तुलसा अधिकारी र क्षेत्र नम्बर २ का सभापति फैयाज मियालाई जिम्मेवारी तोकिएको छ। यी नगरपालिकाहरुमा नगर समितिका सबै सदस्यहरुलाई समेत सक्रिय बनाउने निर्णय गरिएको छ।
पटेर्वा सुगौली, सखुवा प्रसौनी, विन्दवासनी र पकाहामैनपुर गाउँपालिकाका विभिन्न वडाहरुमा संगठन विस्तारको कमान्ड जिल्ला कोषाध्यक्ष दिलिप कुर्मी र प्रदेश शिक्षा विभाग उपप्रमुख सोनालाल पटेलले सम्हाल्ने भएका छन्। रास्वपाले पर्साका ग्रामीण भेगसम्म पार्टीको नीति र एजेन्डा पु-याउन यो विशेष टोली परिचालन गरेको हो।

