वीरगन्ज । वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी प्रसाद रायमाथि बिहीबार बिहान कालोमोसो दलिएको छ । क्याम्पसमा लामो समयदेखि चल्दै आएको व्यवस्थापन, कर्मचारी र विद्यार्थीबीचको त्रिपक्षीय विवाद उत्कर्षमा पुगेपछि यो घटना भएको हो ।
क्याम्पस व्यवस्थापन समितिले प्रमुखको नियुक्ति र कर्मचारी भर्ना प्रक्रियामा मनोमानी गरेको, सेवा सुविधा नबढाएको भन्दै रुष्ट बनेका कर्मचारीहरू आन्दोलित भएका थिए । उनै कर्मचारीहरुले प्रमुख रायलाई कालोमोसो दलेका हुन् ।
पछिल्लो समय क्याम्पसभित्रको आन्तरिक द्वन्द्वका कारण पठनपाठनमा अवरोध सिर्जना भएको भन्दै विद्यार्थीहरू समेत आन्दोलित रहँदै आएका थिए । कर्मचारीहरूले व्यवस्थापनको एकलौटी निर्णयविरुद्ध आन्दोलन गरिरहेकै अवस्थामा बिहीबार बिहानै यो अप्रिय घटना घटेको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय विर्ताको टोलीले उनीहरूलाई क्याम्पस परिसरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

