वीरगञ्ज । सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँच र अवैध आयातमा कडाइ गरेपछि वीरगञ्ज बजारमा आर्थिक गतिविधि र ग्राहकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ। घरायसी र दैनिक उपभोग्य सामान खरिदका लागि सीमापारि (भारतीय बजार) जाने उपभोक्ताहरू अहिले स्थानीय बजारमै केन्द्रित हुन थालेका हुन्।
स्थानीय व्यवसायीहरूका अनुसार भन्सारमा गरिएको पछिल्लो कडाइका कारण वीरगञ्जको समग्र व्यापारमा करिब २५ प्रतिशतले वृद्धि भएको छ। सीमा क्षेत्रबाट हुने अनौपचारिक आयात नियन्त्रण हुँदा नेपाली उपभोक्ताहरू स्वदेशी बजारमै सामान किन्न उत्साहित देखिएका छन्।
स्थानीय व्यापारी जयप्रकाश खेतानले भन्सारमा कडाइ सुरु भएयता आफ्नो पसलको कारोबार मात्रै करिब ३० प्रतिशतले बढेको जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध व्यापारलाई पूर्ण रूपमा नियन्त्रण गर्न सके व्यापारको यो ग्राफ ५० प्रतिशतसम्म पुग्न सक्ने अपेक्षा व्यवसायीहरूको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सीमा क्षेत्रका बासिन्दाले ठूलो परिमाणमा सामान ल्याउने पुरानो अभ्यासमा अहिलेको प्रावधानले परिवर्तन ल्याएको बताए। उनले स्थानीय बजारलाई चलायमान बनाउन भन्सारको यो सक्रियता सकारात्मक रहेको धारणा व्यक्त गरे।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार कडाइका कारण अनौपचारिक आयात घट्दै गएको छ भने राजस्व संकलनमा समेत सुधार देखिएको छ। कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। सोही अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
सीमामा निगरानी बढ्दा एकातिर अवैध कारोबारमा कमी आएको छ भने अर्कोतर्फ स्थानीय बजारमा व्यापारिक चहलपहल बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको विश्लेषकहरूको बुझाइ छ।
