वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित दशगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका अवैध संरचना र मदिरा पसलहरू सुरक्षा निकायको संयुक्त टोलीले हटाएको छ। बिहीबार नेपाल र भारतका सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सीमा क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका भट्टी र टहराहरू भत्काएको हो।
बिन्दबासिनीको प्रसौनीभाठ्ठा र अमरपट्टीको सीमा ईलाकामा सञ्चालित यी संरचनाहरूले सीमा सुरक्षा र व्यवस्थापनमा चुनौती थपेको निष्कर्ष निकाल्दै दुवै देशका सुरक्षा अधिकारीहरूले सक्रियता देखाएका हुन्।
उक्त अभियानमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हेडक्वाटर अलौ, प्रहरी चौकी अमरपट्टी र भारतको पूर्वी चम्पारणस्थित ४७औँ बटालियन एसएसबी धुपाटोलाको संयुक्त टोली परिचालन भएको थियो।
टोलीले दशगजा क्षेत्रलाई मिचेर बनाइएका नेपालतर्फका ५ वटा टहरा, ३ वटा मदिरा पसल र एउटा भट्टी नष्ट गरेको छ। त्यसैगरी भारतीय सुरक्षाकर्मीहरूले आफ्नो क्षेत्रतर्फ रहेका ३ वटा टहराहरू पनि हटाएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि र अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको हो।
खुला सिमानाको फाइदा उठाउँदै दशगजामा अनधिकृत पसल र टहराहरू निर्माण हुने क्रम बढेपछि दुवै पक्षबीचको समन्वयमा यो कारबाही गरिएको हो। सुरक्षा निकायले आगामी दिनमा पनि यस्ता खाले अतिक्रमण हुन नदिन नियमित अनुगमन र कडा निगरानी राख्ने जनाएको छ।
