दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा शनिबार सामान्य विवादले उग्र रूप लिँदा चक्कु प्रहारको घटना भएको छ। विवादका क्रममा भएको झडपमा परी दुई किशोर गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, २२ वर्षीय विराज भण्डारीले १४ वर्षीय अर्जुन रोकाया र १६ वर्षीय लेलिन थापामाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका हुन्। चक्कु प्रहारबाट अर्जुन रोकायाको दायाँ अण्डकोषको भागमा र लेलिन थापाको छातीमा चोट लागेको छ।
घटनाको जानकारी पाएलगत्तै घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई प्रदेश अस्पताल सुर्खेत (कालागाउँ) पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिनुभयो।
एकजना पक्राउ, मुख्य अभियुक्त फरार यस घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय गजेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यद्यपि, मुख्य अभियुक्त मानिएका विराज भण्डारी भने घटनापछि फरार छन्। प्रहरी निरीक्षक गौतमका अनुसार फरार भण्डारीको खोजीकार्य तीव्र पारिएको छ र उनको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
