वीरगन्ज । भदौ २३ र २४ को आन्दोलनपछि उलटफेर भएको नेपाली राजनीतिले पूराना दलहरुमा पनि युवाको नेतृत्वको बहस चर्किदै गएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेतृत्व पुस्तान्तरणको विषय फेरि चर्चामा आएको छ।
पार्टीका युवा तथा तत्कालिन नेकपा (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता रविराज दंगालले सार्वजनिक रूपमा वरिष्ठ नेताहरूसँग नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न माग गरेका छन्।
दंगालले सामाजिक सञ्जालमार्फत लेख्दै पार्टीका “वृद्ध कमरेडहरू” लाई अब अभिभावकीय भूमिकामा बस्न आग्रह गरेका छन्। उनले देशको राजनीतिक व्यवस्था परिवर्तनमा पुरानो पुस्ताको योगदानको सम्मान गर्दै अब नेतृत्वको जिम्मेवारी युवालाई दिनुपर्ने समय आएको बताएका छन्।
उनले लेखेका छन्, “देशको व्यवस्था परिवर्तनका लागि तपाईंहरूको योगदानको हामी उच्च सम्मान गर्छौं। अब तपाईंहरू निर्देशन र सुझाव दिने भूमिकामा बस्नुस र नेतृत्व युवा पुस्तालाई दिनुस।”
रविराज दंगालले वर्तमान राजनीतिक संरचनामा युवाहरूको सहभागिता बढ्दै गएको उदाहरण दिँदै प्रतिनिधि सभामा ४० वर्षभन्दा कम उमेरका करिब ७० प्रतिशत सांसद रहेको र ३५ वर्षका प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा पार्टी नेतृत्वमा युवालाई अवसर नदिनु असंगत भएको उनको भनाइ छ।
उनले पार्टीभित्र गठन गरिएको “संयोजन टिम” प्रति प्रश्न उठाउँदै “यो टिम कसलाई संयोजन गर्नेर ?” भन्ने जिज्ञासा पनि व्यक्त गरेका छन्। साथै, अहिलेको पुस्ता पार्टीको वर्तमान गतिविधिप्रति सन्तुष्ट नरहेको चेतावनी दिँदै यस्तो अवस्था जारी रहेमा गम्भीर परिणाम आउन सक्ने संकेत गरेका छन। दंगालको यो अभिव्यक्तिले नेकपा भित्र पुस्तान्तरण र नेतृत्व संरचना सम्बन्धी बहसलाई थप तीव्र बनाउने देखिएको छ।
