वीरगन्ज । गृह मन्त्रालयले प्रशासन संयन्त्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले चार सहसचिवसहित सात जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयको पछिल्लो निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारीमा हेरफेर गरिएको हो।
यस पटकको सरुवामा डा. डिजन भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सुम्पिएको छ भने खडानन्द अधिकारीलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। यस्तै कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, काठमाडौंमा कार्यरत महानिर्देशक सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ।
मन्त्रालयले तीन जना उपसचिवहरूलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर विभिन्न जिल्लामा खटाएको छ।
जसअनुसार राजु प्रसाद पौडेललाई इलाम, कृष्ण थापालाई पर्सा र सुमन कुमार कार्कीलाई संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
कार्की पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका थिए । मन्त्रालयले प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई मध्यनजर गर्दै यी सरुवाहरू गरेको उल्लेख गरेको छ।

