हेटौडा । मकवानपुरको मनहरीबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ६ः१० बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ९ बाट १७१ किलो २१ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीले शंकास्पद अवस्थामा फेला परेको बा १३ च २१४ नम्बरको हात्ती गाडीलाई रोकेर रीतपूर्वक खानतलासी गर्दा गाडीको पछाडिको भागमा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको थियो। घटनामा संलग्न रहेको आरोपमा गाडी चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका वडा नम्बर ४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।
पक्राउ परेका स्याङतान र बरामद गरिएको गाँजा तथा सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
