वीरगन्ज— मध्यपूर्वी एशियामा इजरायल, इरान र अमेरिकाबीच चर्किएको सैन्य तनावको प्रत्यक्ष असर नेपालका पेट्रोलियम पदार्थमा आधारित प्लाष्टिक उद्योगहरुमा देखिन थालेको छ।
खाडी मुलुकहरुमा युद्धको स्थिति सिर्जना भएसँगै त्यहाँबाट आयात हुने प्रमुख कच्चा पदार्थ ुप्लाष्टिक दानाुको आपूर्ति शृङ्खला बिग्रिएपछि नेपाली उद्योगीहरु चिन्तित बनेका छन्। इरानले अमेरिकी सैन्य बेस रहेका क्षेत्रमा जवाफी आक्रमण सुरु गरेपछि खाडी क्षेत्रबाट हुने निर्यातमा अवरोध आएको छ, जसका कारण नेपालका प्लाष्टिक उद्योगहरुले आवश्यक कच्चा पदार्थ पाउन छाडेका छन्।
प्याकवेल इण्डष्ट्रिजका सञ्चालक दिपक डिवडेवालका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अप्रत्याशित रुपमा ४० देखि ५० प्रतिशतसम्म बढेको छ। मूल्य बढे पनि बजारमा सहज उपलब्धता नहुँदा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्। डिवडेवाल भन्छन्, ‘हाम्रा अधिकांश कच्चा पदार्थ खाडी मुलुकबाट आउँछन्। अहिलेको तनावले गर्दा मौज्दात रहेको कच्चा पदार्थले धेरैमा डेढ महिना मात्र उद्योग धान्न सकिएला, त्यसपछिको स्थिति अन्यौलपूर्ण छ।’
पेट्रोलियम क्रुड आयलबाट उत्पादन हुने प्लाष्टिकका दानाहरुको उत्पादनमै कटौती आएपछि भारतबाट हुने आयात समेत प्रभावित भएको छ। वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालका अनुसार पेट्रोलियम र ग्यास उत्पादनमा देखिएको समस्याले गर्दा कच्चा पदार्थको आयात(निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ। उद्योगीहरुका अनुसार प्रतित पत्र ९एलसी० खोलेर मगाइएका सामान समेत भारतीय पक्षले रोकेका कारण समस्या थप जटिल बनेको छ।
यसैबीच मध्यपूर्वको द्वन्द्वले नेपालमा खाना पकाउने ग्यासको समेत कृत्रिम अभाव सिर्जना गरेको छ। भारतमा ग्यास अभावका कारण रेस्टुरेन्टहरु बन्द भएको खबरले सर्वसाधारणमा त्रास फैलिएपछि ग्यास लुकाउने र अनावश्यक भण्डारण गर्ने क्रम बढेको छ। यद्यपि, बारा ग्यास (लियो) का सञ्चालक निर्मल सिन्धीले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। ग्यासको आयात र वितरण भइरहेको भए पनि हल्लाका कारण माग र आपूर्तिमा सामान्य असन्तुलन देखिएको उनको भनाइ छ।

