महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब ११स्२० बजे रामगोपालपुर नगरपालिका वडा नं. ७ बाट उक्त लागूऔषध बरामद गरेको हो।
शंकास्पद अवस्थामा पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेट DL-1CQ 5869 को कारभित्र चालक नभेटिएपछि प्रहरीले खानतलासी लिएको थियो।
कारको डिकीभित्र रातो र कालो प्लास्टिकले बाँधिएका २० वटा पोकामा लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा कुल १०९ किलो ६१० ग्राम रहेको पाइएको छ।
प्रहरीले गाँजासहित कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ। उक्त अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्यका लागि थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।
