चितवन । चितवनको कालिका नगरपालिका-९ मा शनिबार भएको अटो रिक्सा दुर्घटनामा परी चार जनाको ज्यान गएको छ। शक्तिखोर-उपरदाङगढी सडकखण्डमा अटो अनियन्त्रित भई नालीमा खस्दा सो दुर्घटना भएको हो।
उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा.प्र ०६-००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकको नालीमा खसेको थियो। दुर्घटनालगत्तै गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा चालकसहित राप्ती नगरपालिकाका बासिन्दा रहेका छन्:
पूर्णबहादुर विक (३९ वर्ष): अटो चालक, राप्ती नगरपालिका-९
बिष्णुकुमारी तामाङ (५६ वर्ष): राप्ती नगरपालिका-८
बिनी तामाङ (२२ वर्ष): राप्ती नगरपालिका-९
तिलक तामाङ (५५ वर्ष): राप्ती नगरपालिका-९
दुर्घटनामा राप्ती नगरपालिका-९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छिन्। उनको हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
“अटो तीव्र गतिका कारण अनियन्त्रित भएर नालीमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” प्रहरीले जानकारी दिएको छ।
