बागलुङ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा बागलुङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ। पुराना र स्थापित दलहरूलाई पछि पार्दै बागलुङमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको हो।
क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुशील खड्का भारी मतान्तरका साथ विजयी भएका छन्। खड्काले २० हजार ९२७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भिमबहादुर रानाले ११ हजार ९४४ मत मात्र ल्याउन सके।
यस क्षेत्रमा नेकपा एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत प्राप्त गरे। स्मरणीय छ, यसअघि यो क्षेत्र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएको ‘लालकिल्ला’ मानिन्थ्यो।
उता क्षेत्र नम्बर २ मा पनि रास्वपाकै सोम शर्मा विजयी भएका छन्। शर्माले १२ हजार ६४७ मत ल्याई जित सुनिश्चित गर्दा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे।
त्यस्तै, नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत ल्याए भने नेकपा एमालेकी मन्जु शर्मा ७ हजार ८६४ मतसहित चौथो स्थानमा रहिन्।
यस निर्वाचनमा दलहरूबीच रोचक तालमेल देखिएको थियो। क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो भने क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले समर्थन गरेको थियो। यद्यपि, पुराना दलहरूको यो चुनावी समीकरणलाई चिर्दै रास्वपाले दुवै क्षेत्रमा बाजी मारेको छ।

