वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै चुनावी मैदानमा उत्रिएका अधिकांश उम्मेदवारहरूको नराम्रो पराजय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त भारी मतान्तरले विजयी हुँदा अन्य २७ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।
निर्वाचन आयोगको कानूनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने गर्दछ। पर्सा-१ मा यो कडा प्रतिस्पर्धाका बीच रास्वपा बाहेकका अन्य धेरै स्थापित अनुहारहरूले यो न्यूनतम मत सीमा पनि कटाउन सकेनन्।
जमानत गुमाउनेहरूमा राष्ट्रिय राजनीतिको चर्चामा रहेका दलका जिल्लास्तरीय नेताहरू समेत रहेका छन्। जसको विवरण यस प्रकार छ । नन्दकिशोरप्रसाद श्रीवास्तव: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रामनरेशप्रसाद यादव: जनता समाजवादी पार्टी (जसपा) नेपाल, अजय चौरसिया: नेपाली कम्युनिष्ट पार्टी, ओमप्रकाश शर्राफ: जनमत पार्टी, विश्वराज पटेल: आम जनता पार्टी, रामकिशोर सिंह: उज्यालो नेपाल पार्टीहरू छन्।
यसका साथै नेपाल मजदुर किसान पार्टीका प्रमोदप्रसाद पटेल, जन अधिकार पार्टीका महेशकुमार पासवान र विभिन्न साना दलका उम्मेदवारहरूले पनि आफ्नो जमानत जोगाउन सकेनन्।
स्वतन्त्र रूपमा उम्मेदवारी दिएका १२ जना उम्मेदवारहरूको अवस्था झनै नाजुक देखिएको छ। कतिपयले दोहोरो अंकमा समेत मत पाउन सकेनन्। जमानत जफत हुने स्वतन्त्र उम्मेदवारहरूमा अनिलप्रसाद यादव, अभिनाश चौरसिया, आर्यशशिकला राउत, दीपकुमार बर्मा, नरेशकुमार यादव, प्रेम मेहता, पुकार थापा, म. साजिद अली, विशालकुमार पाण्डेय, बिशाल कुमार, शिवप्रसाद कोइरी र सरोजप्रसाद यादव रहेका छन् । स्वतन्त्र उम्मेदवार मध्य आधा दर्जन उम्मेदवार प्रदीप यादवका डमी उम्मेद्वार थिए ।
यस निर्वाचन परिणामले वीरगन्ज क्षेत्रमा परम्परागत राजनीतिक शक्ति र मधेस केन्द्रित दलहरूलाई ठूलो धक्का दिएको विश्लेषण गरिएको छ। रास्वपाका उम्मेदवारले अग्रता लिइरहँदा अन्य दलहरूले आफ्नो सुरक्षित भोट बैंक समेत जोगाउन नसक्नुले मतदाताको बदलिँदो चाहनालाई स्पष्ट पारेको छ।
जमानत जफत भएका उम्मेदवारहरूले अब आगामी ५ वर्षका लागि आफ्नो राजनीतिक धरातल पुनः समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।