वीरगंज । नेकपा एमाले पोखरिया नगर कमिटीमा लामो समयदेखि गुम्सिएको आन्तरिक कलह अन्ततः सामूहिक राजीनामासँगै विस्फोट भएको छ। जिल्ला र नगर नेतृत्वको ‘एकलौटी र पक्षपातपूर्ण’ कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नगर उप-सचिव मुस्तुफा आलमसहित नौ जना नेताहरूले पार्टी परित्याग गरेका हुन्।
नगर उप-सचिव आलमसहित, वडा अध्यक्ष धर्मेन्द्र पटेल, महिला उप-सचिव सुदामा देवी र युवा संघका नेताहरूले संयुक्त विज्ञप्ति निकाल्दै एमालेसँगको आबद्धता अन्त्य गरेका छन्। विश्वम्भर शर्माको नेतृत्वले इमानदार कार्यकर्तालाई पाखा लगाएको र पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त पारेको उनीहरूको दाबी छ।
स्थानीय चुनावको मुखमा पकड भएका नेताहरूले पार्टी छाड्नुलाई पोखरियामा एमालेको सांगठनिक भविष्यका लागि ठूलो क्षतिका रूपमा हेरिएको छ।
यो विद्रोहले पर्साका अन्य क्षेत्रमा रहेका असन्तुष्ट समूहलाई समेत प्रभावित पार्ने देखिएको छ।

