गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले हिंसा र धार्मिक द्वन्द्वको राजनीतिमा कहिल्यै विश्वास नगर्ने स्पष्ट पारेका छन्। बिहीबार गोरखा सदरमुकाममा आयोजित एक विशेष सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
हालैका आन्दोलन र संरचनाहरूमा भएको क्षतितर्फ संकेत गर्दै लामिछानेले भौतिक संरचना जलेको घटनामा रास्वपाले गौरव नगर्ने बताए। “संरचना जलेकोमा हामी गौरव गरेका छैनौँ। हिंसालाई रास्वपाले कहिल्यै विश्वास गर्दैन,” उनले भने।
सभापति लामिछानेले रास्वपाले धर्म वा भूगोलको नाममा राजनीति गरेर समाजलाई विभाजन नगर्ने प्रतिबद्धता जनाए। विश्वका विभिन्न देशमा भइरहेका धार्मिक युद्धको उदाहरण दिँदै उनले नेपालमा धार्मिक द्वन्द्वको बीउ रोप्नु खतरनाक हुने चेतावनी दिए।
उनले थपे, “धर्मका नाममा द्वन्द्वको बीउ रोपियो भने त्यसको फल कस्तो हुन्छ, विश्वका धार्मिक युद्ध मच्चिरहेका देशका उदाहरण हेर्नुस्। हरेक जातजाति, धर्म र सम्प्रदायमा विश्वास राख्नेहरूलाई उत्तिकै सम्मान गर्ने हाम्रो सिद्धान्त हो।”
लामिछानेले आगामी निर्वाचनलाई पौराणिक ‘महाभारत’ सँग तुलना गर्दै मतदाताहरूलाई ‘कौरव’ र ‘पाण्डव’ चिन्न आग्रह गरे। देशको भविष्यका लागि सही शक्ति छान्ने जिम्मा जनताको हातमा रहेको उनको तर्क थियो।
सम्बोधनका क्रममा उनले आफूलाई विगतमा प्रधानमन्त्रीको अफर आएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेको समेत खुलासा गरे। उनले सत्ताभन्दा पनि जनताको मुद्दा र पार्टीको नीति मुख्य रहेको बताए।
