मनहरी | मकवानपुरको मनहरी गाउँपालिका-७, बिजौनास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना आइतबार बिहान करिब ७:०० बजे भएको थियो। बस सडकको बायाँ किनारमा रहेको पोलमा ठोक्किएर क्षति पुगेको छ।
घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा १६ जनाको टोली (ट्राफिक प्रहरीसहित) घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।
प्रहरीले दुर्घटनामा घाइते भएका २२ जनालाई तत्कालै उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्दछ। दुर्घटनापछि बस सडकमै रहे पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
“बस अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ, यद्यपि हामी यसबारे थप अनुसन्धान गरिरहेका छौँ,” प्रहरी निरीक्षक थापाले बताए।
