वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाले पर्सा जिल्लाको भ्रमण गरी आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारीबारे महत्वपूर्ण नीति निर्देश गरेका छन् ।
आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उनले शुक्रबार जिल्लाको सुरक्षा अवस्थाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् ।
भ्रमणका क्रममा डिआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा चुनौती र रणनीतिबारे छलफल गरेका थिए ।
उनले निर्वाचनका बेला हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि रोक्न, सीमा नाकामा निगरानी बढाउन र आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन प्रहरीलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिए ।
‘निर्वाचन लोकतन्त्रको प्राण हो, यसलाई भयरहित बनाउन प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले निर्देशनका क्रममा भने, ‘कुनै पनि राजनीतिक दबाब वा प्रभावमा नपरी व्यावसायिक धर्म निर्वाह गर्न र सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्न म आग्रह गर्दछु।’
सुरक्षा अनुगमन र आवश्यक निर्देशन पश्चात् डिआईजी थपलिया दिउँसो पर्साबाट प्रस्थान गरेका थिए । उनको पर्सा भ्रमणले जिल्लाको सुरक्षा संयन्त्रलाई थप चुस्त बनाउने र निर्वाचन सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
निर्वाचन नजिकिएसँगै मधेश प्रदेशका सबै जिल्लाहरूमा सुरक्षा सतर्कता बढाइएको र अति संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी थालिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
