सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार सुर्खेतमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोषसभा’ लाई सम्बोधन गर्दै उहाँले कर्णालीको गहिराइ र यसको सामर्थ्यलाई रास्वपाले आत्मसात् गरेको उल्लेख गर्नुभयो ।
मुगुको प्रसिद्ध रारातालको प्रसङ्ग जोड्दै नेता शाहले भन्नुभयो, “राराताल जत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ । अब कर्णालीलाई उपेक्षा होइन, विकासको मूलधारमा ल्याउनुपर्छ ।”
सम्बोधनका क्रममा उहाँले कर्णालीका स्थानीय उत्पादनलाई देशभरिका बजारसम्म पुर्याउने र यहाँको मौलिक सभ्यता तथा संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्ने रास्वपाको लक्ष्य रहेको बताउनुभयो । विगतका नेताहरूले कर्णालीको गरिबी र पीडालाई केवल राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाउँदै उहाँले अब कर्णालीलाई साँचो अर्थमा बुझ्ने नेतृत्वको खाँचो रहेको औंल्याउनुभयो ।
“कर्णालीको पीडा बेच्ने नेता धेरै भए, तर यसलाई गहिराइबाट बुझ्ने नेता भएनन्,” बालेनले भन्नुभयो, “हाम्रो उद्देश्य कर्णालीको दुःखमा राजनीति गर्ने होइन, यहाँका सपनाहरूलाई साकार पार्ने नेतृत्व जन्माउनु हो ।”
कर्णालीको समग्र विकास र समृद्धिका लागि रास्वपाले स्पष्ट मार्गचित्र बनाएको दाबी गर्दै उहाँले यहाँको जल, जमिन र जडिबुटीको सही सदुपयोगबाट मात्रै प्रदेशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।
