काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा राजधानीका विभिन्न सडक, चोक तथा मन्दिर आसपासमा बालबालिकाहरूले बाटो छेकेर दान सङ्कलन गरिरहेका देखिएका छन्।
पर्वको दिन सङ्कलन गरिएको दानबाट राति धुनी बाल्ने परम्परा रहेको स्थानीयहरूले बताएका छन्। केही स्थानमा भने बालबालिकाहरूले मनोरञ्जनका लागि समूह बनाएर सवारी साधन रोकी दान माग्ने गरेका छन्।
यसरी सडकमै बाटो छेकेर दान उठाउँदा सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्ने देखिएको छ। नेपाल प्रहरी ले भने सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै बाटो छेकेर दान सङ्कलन नगर्न आग्रह गर्दै आएको छ।
प्रहरीले अभिभावक र स्थानीय तहलाई पनि बालबालिकालाई सुरक्षित र व्यवस्थित तरिकाले पर्व मनाउन सचेत गराएको जनाएको छ।
