काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) र त्यस वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। विभिन्न राजनीतिक दल र समूहहरूले फागुन १ गते विमानस्थल परिसरमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले यो कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेश अनुसार, यो निषेधाज्ञा बिहीबारदेखि लागू भई आगामी एक महिनासम्म कायम रहनेछ।
आदेश जारी भएसँगै अब अनसन तथा धर्ना, घेराउ र जुलुस र विरोध प्रदर्शन तथा सार्वजनिक सभा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई देहायका कार्यहरू गर्न पाइने छैन ।
विमानस्थलको अत्यन्तै संवेदनशील मानिने प्रवेश गर्ने गोल्डेन गेट, परिसरभित्रका सम्पूर्ण सडकहरू, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र र पार्किङ क्षेत्र लगायत विमानस्थलको सम्पूर्ण हाताहरूमा यो आदेश प्रभावकारी हुनेछ ।
“विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा उत्तेजित भीड जम्मा हुँदा तोडफोड, आगजनी र उच्छृङ्खल गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो,” प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्थानीय प्रशासनले नागरिकको संवैधानिक हकको सम्मान गर्ने स्पष्ट पार्दै निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण भेला हुन पाउने अधिकार सुरक्षित रहेको जनाएको छ। यद्यपि, विरोधका कार्यक्रमबाट सरकारी वा सार्वजनिक सम्पत्तिमा क्षति पुगेमा आयोजकबाटै क्षतिपूर्ति असुल गरिने कडा चेतावनी समेत दिइएको छ।

