काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले वर्तमान विश्वका चुनौती र अनिश्चितताका बीच क्षेत्रीय सहकार्य अब ‘इच्छा’ मात्र नभई ‘अनिवार्य’ भएको बताउनुभएको छ ।
क्षेत्रीय सेतुको आवश्यकतामा सचिव राईले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाहरूलाई जोड्न क्षेत्रीय सहकार्यले महत्त्वपूर्ण सेतुको काम गर्ने उल्लेख गर्नुभयो । उहाँले सार्कलाई थप गतिशील र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
४० वर्षको उपलब्धिमा सार्कका महासचिव गोलाम सरवारले सार्क बडापत्र स्थापनाको ४ दशक पुगेको स्मरण गर्दै क्षेत्रीय सहकार्यको आकाङ्क्षालाई अब ठोस व्यवहारमा रूपान्तरण गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभयो ।
बजेट र कार्यक्रम आज (बिहीबार) समापन हुने यस दुई दिने बैठकले सार्क सचिवालयको वर्ष २०२६ का लागि बजेट, कार्यक्रम र गतिविधिहरूको क्यालेन्डर अनुमोदन गर्ने कार्यतालिका छ ।
नेपालको अध्यक्षतामा भइरहेको यस बैठकमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू र सार्क सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

