काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्।
संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राख्दै पारितका लागि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ।
आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
त्यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

