झापा — झापाको दमकमा टिपरको ठक्करबाट दुई जना युवकको मृत्यु भएको छ। बुधबार साँझ दमक–१ बरगाछीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे.१ ख २८८४ नम्बरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा इलामको चुलाचुली गाउँपालिका–४ निवासी २२ वर्षीय प्रवेश राई र १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनापछि टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका–९ राटमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई प्रहरीले पक्राउ गरेको छ। मृतक दुवै युवकको शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
