काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाललाई थप २२३ थान सवारी साधन उपलब्ध गराउने भएको छ। उपहार स्वरुप प्रदान गरिने ती गाडीको तेस्रो खेप छिट्टै नेपाल ल्याइने तयारी गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ।
दूतावासका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो रहेका छन्। यसअघि पहिलो खेपअन्तर्गत ६१ वटा सवारी साधन माघ ६ गते भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।
यसपटकको निर्वाचन प्रयोजनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ थान सवारी साधन नेपाललाई उपलब्ध गराउने बताइएको छ। निर्वाचन प्रयोजनका लागि आवश्यक सवारी साधन उपलब्ध गराइदिन गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायता माग गरेको थियो।
प्राप्त सबै सवारी साधन भारतीय दूतावासले गृह मन्त्रालयलाई हस्तान्तरण गर्ने र गृह मन्त्रालयले आवश्यकता अनुसार सम्बन्धित निकाय तथा जिल्लामा वितरण गर्ने व्यवस्था गरिएको छ।
गत भदौ २३ र २४ गते भ्रष्टाचार र सुशासनको मागसहित भएको जेन–जी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी हुँदा भवन तथा सवारी साधनहरूमा क्षति पुगेको थियो। त्यसपछि निर्वाचन सुरक्षाका लागि सवारी साधनको अभाव थप महसुस हुन थालेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार निर्वाचन तयारीबारे छलफलका क्रममा धेरै जिल्लाबाट सवारी साधनको माग आइरहेको छ। “हामी निर्वाचनको तयारीमा छौँ, तर जिल्लाहरूबाट गाडी अभाव रहेको भन्दै निरन्तर माग आइरहेको छ,” उनले भने।
निर्वाचन प्रयोजनका लागि भारत सरकारको सहयोगमा प्राप्त सवारी साधनहरू निर्वाचन सम्पन्न भएपछि पनि नेपाल सरकारले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने बताइएको छ।

