काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा रहेका ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गर्दै नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारहरूको योग्यता र विवरण रुजु गर्ने क्रममा कानुनी मापदण्ड पूरा नगरेका उनीहरूलाई सूचीबाट हटाइएको हो ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार नाम हटाइनुमा मुख्य ५ कारणहरू देखिएका छन् । कर्जा सूचना केन्द्र बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत नाम कायम रहेका २५ जनालाई हटाइएको छ । विगतका निर्वाचनमा खर्च विवरण नबुझाएका वा अन्य कारणले आयोगले तोकेको जरिवाना नतिर्ने १० जना उम्मेदवार परेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि न्यूनतम २५ वर्ष उमेर पूरा हुनुपर्ने प्रावधान भए पनि उमेर नपुगेका ४ जनाको नाम काटिएको छ र अन्य प्राविधिक कारणमा मतदाता नामावलीमा नाम नभएका, क्लस्टर (समावेशी समूह) नमिलेका र सम्बन्धित दलले नै नाम हटाउन आग्रह गरेका उम्मेदवारहरू यसमा समेटिएका छन् ।
आयोगले ७६ जनाको नाम हटेसँगै अब समानुपातिकतर्फ ३ हजार १३७ जना उम्मेदवारको नाम कायम भएको जनाएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि ६३ वटा राजनीतिक दलले समानुपातिक प्रणालीमा भाग लिएका छन् । आयोगले माघ १७ गते नै ५८ वटा निर्वाचन चिह्न समेटिएको नमुना मतपत्र सार्वजनिक गरिसकेको छ, जसमा नेकपा (एमाले) को ‘सूर्य’ पहिलो र नेपाली कांग्रेसको ‘रुख’ दोस्रो स्थानमा रहेका छन् ।
समानुपातिक बन्दसूचीबाट नाम हटाएकाे कारण https://drive.google.com/file/d/1kk5CgVSC75AAoNJA8FLJpp5peMcKr8uW/view
