काठमाडौँ । आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ। नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपास सक्रिय गिरोहलाई पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
भारतीय प्रहरीले सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर ध्वस्त पारेको छ। छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, हाइटेक मेसिन, कागज र रसायन बरामद गरिएको छ।
घटनामा संलग्न १० जनालाई पक्राउ गरिएको छ, जसमा ३ जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानमा नक्कली नेपाली रुपैयाँ फागुन २१ गते हुने निर्वाचनमा प्रयोग गर्ने योजना रहेको खुलेको छ।
छापामारीका क्रममा तीन मोटरसाइकल र एक कार पनि बरामद गरिएको छ। सुरक्षा निकायले गिरोहका अन्य सदस्य तथा मुख्य योजनाकारको खोजी तीव्र बनाएको जनाएको छ।

