काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार २५ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको हो।
आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ। यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको थियो।
मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छपाइ भइसकेको आयोगले जनाएको छ।
यसैबीच, निर्वाचन शिक्षा प्रवर्द्धनका लागि आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ प्रकारका सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ। ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण भइरहेको छ।

