वीरगन्ज । दशौं संस्करणको प्याब्सन नेपाल मेडिसिटी टी–२० नकआउट क्रिकेट प्रतियोगित २०८२ अन्तर्गत आईतबार सम्पन्न २० औँ खेलमा गौतम स्कूल विजयी भएको छ ।
गौतम स्कुलले ओम नेशनल एकेडेमीमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको ओम नेशनल एकेडेमीले निर्धारित ओभरको खेलमा ८ ओभर खेल्दै ३ विकेटको क्षतिमा जम्मा ३६ रन बनाउन सफल भएको थियो।
टोलीका लागि अरविन्द कुमार साहले २१ बलमा १७ रन र वाहिद खानले १३ बलमा १० रनको योगदान दिएका थिए। विपक्षी टोली गौतम स्कूलका बलर साहिल हुसेन र विराट पाण्डेले कसिलो बलिङ गर्दै समान १–१ विकेट लिएका थिए।
३७ रनको सामान्य लक्ष्य पछ्याएको गौतम स्कूलले मात्र ३.४ ओभरमा कुनै पनि विकेट नगुमाई ३८ रन बनाउँदै लक्ष्य पूरा गर्यो। टोलीको जितमा साहिल हुसेनले आक्रामक पारी खेल्दै मात्र ११ बलमा २७ रन जोडे भने अनिश चौधरीले ११ बलमा ७ रन बनाएर उनलाई राम्रो साथ दिए।
ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका साहिल हुसेन यस खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। ओम नेशनलका रत्नश कुमार कुशवाहा र कृष्ण यादवले विकेट लिन सकेनन् र टोलीले १० विकेटको हार व्यहोर्नु पर्यो।

