बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा भएको आमा–छोराको विभत्स हत्या प्रकरणमा प्रहरीले परिवारकै सदस्यलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक रामेश्वर मण्डलकी पत्नी (बुहारी) लाई पक्राउ गरेको हो।
गएराति करिब १ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो। घटनामा सुमित्राका पति ५० वर्षीय जगरुप र छोरी २८ वर्षीया मनितादेवी गम्भीर घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार गाउँले र प्रारम्भिक अनुसन्धानका आधारमा बुहारीलाई नियन्त्रणमा लिइएको हो।
एउटै ओछ्यानमा सुतेका पतिको हत्या हुँदा पत्नी (बुहारी) लाई भने कुनै चोट लागेको छैन। घटना भइरहँदा बुहारीले कुनै हल्लाखल्ला वा प्रतिकार नगरेको छिमेकीहरूको दाबी छ। घरका अन्य सदस्यमाथि आक्रमण हुँदा बुहारीका १० र ५ वर्षका दुई छोरीहरू पनि सकुशल रहेका छन्।
“एउटै बेडमा सुतेका पतिको हत्या हुँदा पत्नीलाई केही नहुनु र उनले हल्लाखल्ला पनि नगर्नुले शंका उब्जाएको छ। हामीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ।” – नरेन्द्र कुँवर, एसपी, जिल्ला प्रहरी कार्यालय बारा
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरेको छ। पक्राउ परेकी महिलाको माइतीघर प्रसौनी गाउँपालिकाको बन्जरिया रहेको खुलेको छ।
प्रहरीले आक्रमणकारीको पहिचान गर्न र घटनाको वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
