बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आज बिहान अज्ञात समूहले धारिलो हतियार प्रहार गरी आमाछोराको हत्या गरेको छ।
मण्डल परिवारका ५२ वर्षीया आमा र ३२ वर्षीय छोराको अज्ञात व्यक्तिको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। सोही परिवारका अन्य तीन जना सदस्य घाइते भएका छन् । घाइतेहरूको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार आज बिहान करिब ३ बजेतिर घरमा सुतिरहेको अवस्थामा उनीहरूमाथि धारिलो हतियार प्रहार भएको थियो।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। “अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको देखिएको छ, हामीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिसकेका छौँ,” बारा प्रहरीले जनाएको छ।
हत्या किन र कसले गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। थप विवरण आउन बाँकी छ।
