मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीनवटा चुनाव चिह्नमा मात्रै मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही दलले उम्मेदवारी फिर्ता लिएपछि चुनावी मैदानमा तीनवटा चिह्न मात्रै बाँकी रहेका हुन्।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार अब मनाङका मतदाताले निम्न तीन चिह्नमा मतदान गर्न पाउनेछन्: १. रुख (नेपाली कांग्रेस) २. रातो तारा (नेपाली कम्युनिष्ट पार्टी) ३. भाले (मङ्गोल नेशनल अर्गनाइजेसन)
यसअघि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पनि उम्मेदवारी परेको थियो। तर, दुवै दलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा त्रिपक्षीय बनेको हो।
चुनावी मैदानमा कांग्रेसका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ रहेका छन्।
मनाङमा कुल ७ हजार मतदाता रहेका छन्, जुन देशकै सबैभन्दा कम मतदाता संख्या हो। जिल्लाभर एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७१ जना कर्मचारी खटाएको छ।
