काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित र समस्यारहित बनाउन निर्वाचन आयोगले ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्र’ (JEOC) सञ्चालनमा ल्याएको छ। आयोग परिसरमै स्थापना गरिएको सो केन्द्रको आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभयो।
निर्वाचनका क्रममा फिल्डमा देखिने जुनसुकै प्रकारका प्राविधिक वा सुरक्षासम्बन्धी समस्याहरूलाई तत्काल समाधान गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो।
मतदान केन्द्र वा निर्वाचन क्षेत्रमा समाधान हुन नसकेका समस्याहरूलाई केन्द्रले तत्काल सम्बोधन गर्नेछ। आयोगका सचिवको नेतृत्वमा रहने यस केन्द्रमा गृह मन्त्रालयका सहसचिवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सम्मिलित छन्। केन्द्रले देशभरको निर्वाचन स्थितिको सूचना संकलन गर्ने, विश्लेषण गर्ने र आवश्यक परे तत्काल निर्णय लिई कार्यान्वयन गराउनेछ।
शुभारम्भका क्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न केन्द्रले सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
