रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध परेको उजुरी रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ गरिदिएको छ।
रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले बुधबार नेता नेपाल विरुद्ध उजुरी दिएका थिए।यादवले नेता नेपाल भ्रष्टाचार मुद्दाका आरोपित भएको दाबी गर्दै उम्मेदवारी खारेजीको माग गरेका थिए। नेपाल विरुद्ध विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना सम्बन्धी मुद्दा विचाराधीन छ।
मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार, कानुनतः दोषी प्रमाणित नहुँदासम्म उम्मेदवारी खारेज गर्न नमिल्ने हुनाले उक्त उजुरी दर्ता नगरी दरपीठ गरिएको हो।
अदालतले दोषी ठहर नगरेको अवस्थामा उम्मेदवारी कायमै रहने संवैधानिक प्रावधानका कारण निर्वाचन कार्यालयले सो कदम चालेको हो।
