काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तथा आवश्यक सामग्री ढुवानी गर्न १३ वटा फर्महरूलाई सूचीकृत गरेको छ।
साझा कुरियर एन्ड कार्गो र ट्रान्स एयर इन्टरनेसनल लजिष्टिक प्रालि गरी २ वटा फर्म छनोट भएका छन्। यस अन्तर्गत हिमालयन कार्गो, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज, न्यू भैरव, अदिति, ओम, हरहर महादेव, देउती बज्यै कन्स्ट्रक्सन, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका र एयर मनकामना कुरियर गरी ११ वटा फर्म सूचीकृत भएका छन्।
आयोगले आवेदन माग गरे पनि कुनै पनि हेलिकोप्टर कम्पनीले भने दर्ता गराएका छैनन्। पुस १७ गतेको सूचना अनुसार प्राप्त निवेदनहरूको वार्षिक कारोबार र तोकिएका सर्तका आधारमा आयोगले यी संस्थाहरूलाई मूल्यांकन गरी छनोट गरेको हो। यी संस्थालाई हिमाली तथा उच्च हिमाली क्षेत्र लगायत देशभर निर्वाचन सामग्री आपूर्तिमा परिचालन गरिनेछ।
