वीरगञ्ज । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पर्सा क्षेत्र नं। २ बाट युवा नेता अमिताभ बचन दासलाई उम्मेदवार बनाएको छ।
बहुदरमाई नगरपालिका–४, बहुअरी पिडरीमा आयोजित पार्टी एकता सभा तथा विशेष कार्यक्रममार्फत दासको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिएको हो।
उम्मेदवार घोषित दास प्रलोपा पर्साका जिल्ला इञ्चार्ज एवं संयोजकसमेत हुन्। तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठनबाट पर्सामा राजनीति शुरु गरेका दास संगठन विस्तार र सामाजिक सेवामा क्रियाशील रहेका छन् । उनलाई पार्टीले युवा प्रतिनिधिको रूपमा चुनावी मैदानमा उतारेको हो।
घोषणा सभालाई सम्बोधन गर्दै प्रलोपाका केन्द्रीय सदस्य तथा श्रम, रोजगार एवं सामाजिक सुरक्षा विभाग प्रमुख बालकृष्ण श्रेष्ठले पार्टीको मुख्य एजेन्डा ‘हरेक घरमा रोजगारी’ रहेको बताए ।
उनले जनताको आधारभूत आवश्यकतासँग जोडिएका निःशुल्क स्वास्थ्य सेवा र रोजगारी सिर्जनाका योजनाबद्ध प्रतिबद्धताहरूलाई पार्टीले अघि सारेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै उम्मेदवार अमिताभ बचन दासले पछिल्लो समय राजनीतिमा इमानदार कार्यकर्ताभन्दा तस्करी र दलालीमा संलग्नहरूको प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले आफू जनताका वास्तविक समस्याहरूलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्न मतदाताहरूलाई अपिल गरे ।
क्षेत्र नं. २ की संयोजक तथा प्रदेश सदस्य रेणु बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलोपाका नेता संतोष घिमिरे, क्षेत्र नं. ४ का इञ्चार्ज दिनेश यादव, क्षेत्र नं. ३ का संयोजक फनिन्द्र गुप्ता, केन्द्रीय सल्लाहकार प्रभुलाल श्रीवास्तव, प्रदेश सदस्य अनिल चौरसिया, मनोज सोनार र महिला नेतृ जमिला खातुनलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
निर्वाचनलाई लक्षित गर्दै कार्यक्रमले सन्तोष प्रसाद कलवारको नेतृत्वमा १११ सदस्यीय निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ। सुनिल रौनियारले सञ्चालन गरेको सभामा स्थानीय कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
