काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन, वरिष्ठता, सेवा अवधि र अनुशासनका आधारमा बढुवा सिफारिस गरेको हो।
सूचीको पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह रहेका छन्। साथै भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा पनि सिफारिसमा परेका छन्।
मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि उनीहरू औपचारिक रूपमा एसएसपीमा बढुवा हुनेछन्।


