वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाले वीरगञ्जमा देखिएको पछिल्लो असहज परिस्थितिलाई संवाद र आपसी समझदारीबाट समाधान गर्न अपिल गरेका छन् ।
वीरगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा आँच आउने गतिविधिहरू बढ्न थालेपछि नेता रुंगटाले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् ।
वीरगञ्ज ‘सद्भाव र सम्भावनाको सहर’ भएको उल्लेख गर्दै उनले यहाँको गरिमामय इतिहासलाई जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘वीरगञ्जमा फरक धर्म र सम्प्रदायहरू आपसमा मिलेर बसेको गर्विलो इतिहास छ, उनले भने, ‘अहिलेको मुख्य आवश्यकता इतिहास मेट्ने होइन, बरु धार्मिक सद्भावयुक्त भविष्य कोर्ने हो।’
नेता रुंगटाले जारी तनावलाई मत्थर पार्न र शान्ति सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूलाई यथाशीघ्र गोलबद्ध हुन आह्वान गरेका छन् । समस्याको समाधान सडकबाट नभई वार्तालाप र संवादबाट मात्र सम्भव हुने उहाँको ठम्याइ छ।
वीरगञ्जलाई पुनः आफ्नै लयमा फर्काउनका लागि राजनीतिक दल, नागरिक समाज र स्थानीय प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए ।
पछिल्ला केही दिनदेखि वीरगञ्जमा उत्पन्न तनावका कारण जनजीवन प्रभावित भएको सन्दर्भमा नेता रुंगटाको यो अपिल आएको हो।
उनले सामाजिक सञ्जाल र अन्य माध्यमबाट उत्तेजना नफैलाई संयमता अपनाउन समेत आम नगरवासीलाई आग्रह गरेका छन् ।

