वीरगन्ज । वीरगन्जमा सोमबार साँझदेखि बिहान ८ बजेसम्मका लागि जारी गरेको कर्फ्यु थपिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको कर्फ्यु आदेश मंगलबार दिउँसो १ बजे सम्मका लागि थपिएको हो ।
मधेस प्रदेशको मुख्य व्यापारिक सहर वीरगन्जमा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शान्ति सुरक्षा कायम राख्न यो आदेश जारी गरेका हुन् ।
धनुषाको कमला नगरपालिकामा भएको एक धार्मिक विवादको विषयलाई लिएर वीरगन्जमा दुई समूहले जुलुश प्रदर्शन गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
वीरगन्ज महानगरपालिका भित्रका पूर्वको बाइपास सडक (बसपार्क क्षेत्र), पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा नेपाल-भारत सीमास्थित शंकराचार्य गेटसम्म कर्फ्यु लगाईएको प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको आदेशमा उल्लेख छ ।
प्रशासनको निर्देशन र चेतावनी कर्फ्यु अवधिभर सर्वसाधारणलाई घरबाहिर निस्कन, हिँडडुल गर्न, कुनै पनि प्रकारको सभा, जुलुस, र्याली वा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अत्यावश्यक सेवा र सुरक्षाकर्मी बाहेक कसैलाई पनि सडकमा देखिन निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा भनिएको छ, ‘यस आदेशको उल्लंघन गर्ने जोसुकैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्नेछ।’
यसअघि दिउँसो प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसको उल्लंघन गर्दै जुलुस र ढुङ्गामुढा जारी राखेपछि स्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।
अहिले वीरगन्जका मुख्य चोकहरूमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। आइतबार र सोमबार भएका प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए।
प्रशासनले सामाजिक सद्भाव कायम राख्न र अफवाहको पछि नलाग्न सम्पूर्ण जिल्लाबासीलाई अनुरोध समेत गरेको छ।


