काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु हुने जनाइएको छ।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, विभिन्न तहका कमिटीहरूको समायोजन तथा व्यवस्थापन, र देशव्यापी रूपमा संगठन विस्तार गर्ने रणनीति मुख्य एजेन्डाका रूपमा रहनेछन्।
पार्टी नेतृत्वले सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। साथै, समसामयिक राजनीतिक परिस्थितिसहित विविध विषयमा छलफल हुने यस बैठकलाई रास्वपाको आगामी राजनीतिक रणनीति तय गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ।
