वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा), नेपाल पर्साले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ।
शुक्रबार बसेको जिल्ला कार्यकारिणी समितिको बैठकले पर्साका चारवटै निर्वाचन क्षेत्रबाट विभिन्न नेताहरूको नाम छनोट गरी केन्द्रीय समितिमा पठाउने निर्णय गरेको हो।
पार्टीले सार्वजनिक गरेको नामावली अनुसार क्षेत्र नं. १ बाट पूर्व मुख्यमन्त्री लालबाबु राउतसहित रामनरेश प्रसाद यादव र बालकिशोर प्रसाद यादवको नाम सिफारिस भएको छ।
त्यसैगरी, क्षेत्र नं. २ मा सुरेन्द्र प्रसाद कुर्मी, अशोक कुमार टेमानी, संतोष तिवारी, कामेश पंडित, आशुतोष चर्तुवेदी र बिरेन्द्र प्रसाद यादव गरी ६ जनाको नाम सिफारिस गरिएको छ।
क्षेत्र नं. ३ बाट नगेन्द्र प्रसाद यादव र भरत गिरीको नाम पठाइएको छ भने क्षेत्र नं। ४ बाट डा। कृपासिन्धु प्रसाद चौधरीको नाम एकल रूपमा सिफारिस भएको छ।
आगामी २०८२ फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले मातहतका कमिटीहरूबाट आएका सिफारिसका आधारमा यो निर्णय लिएको जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार जिल्लाबाट सिफारिस भएका यी नामहरूमाथि अब केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ।
