सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय व्यक्तिको मृत्यु भएको छ। बुधबार राति तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।
घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो। मृतक साहले आफ्नो सिटी सफारीमा भारतबाट ८-१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीसँग जम्काभेट भएको थियो। प्रत्यक्षदर्शीका अनुसार मालसामान ओसारपसारको विषयलाई लिएर साह र प्रहरीबीच केही समय विवाद भएको थियो। सोही क्रममा सिटी सफारी चलाइरहेका साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गर्नुभएको छ। “चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा सुरक्षाकर्मीमाथि गोली प्रहार भयो, त्यसको जवाफी फायरिङ गर्दा एक जनाको मृत्यु भएको हो,” उहाँले भन्नुभयो।
स्थानीय बासिन्दाले भने प्रहरीको दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूले लेनदेनको विवादमा प्रहरीले एकतर्फी रूपमा निहत्था व्यक्तिमाथि गोली हानेको आरोप लगाएका छन्। सामान्य सामान ल्याउँदा पनि प्रहरीले क्रूरता देखाएको भन्दै उनीहरू आक्रोशित छन्।
घटनापछि कोशी गाउँपालिका–१ मा स्थिति तनावग्रस्त बनेको छ। साहको मृत्यु भएपछि आक्रोशित स्थानीयले घटनास्थलमा टायर बालेर प्रदर्शन गरिरहेका छन् र हालसम्म शव उठाउन दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने र कानुनी प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेको छ। स्थितिलाई साम्य पार्न र थप अप्रिय घटना हुन नदिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
