काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रतिको जिम्मेवारी बोध गर्दै अब जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा उभिनुपर्ने बताउनुभएको छ। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र सङ्कल्प बोकेर आउने विश्वास व्यक्त गर्दै उहाँले यो वर्ष सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको वर्ष बनोस् भन्ने कामना गर्नुभएको छ।
समीक्षा र सुधारको प्रतिबद्धता प्रचण्डले आफ्नो पार्टीले विगतका सबल र दुर्बल पक्षहरूको गम्भीर समीक्षा गरिरहेको बताउनुभयो। “नेकपाले आफ्ना कमजोरीहरू सच्याएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्न सुरु गरिसकेको छ,” उहाँले भन्नुभयो, “यथास्थितिमा रमाउने सोच र परिवर्तन चाहने शक्तिबिचको सङ्घर्ष अझै जारी रहेकाले हामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ।”
युवा पुस्ता र राजनीतिक परिवर्तन सन् २०२५ लाई फर्केर हेर्दै उहाँले ‘जेन–जी’ (Gen-Z) युवापुस्ताको आन्दोलनले नेपालको राजनीतिमा नयाँ अध्यायको सङ्केत गरेको उल्लेख गर्नुभयो। उक्त आन्दोलनले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता रहेको स्पष्ट पारेको उहाँको ठम्याइ छ। साथै, संविधान निर्माणका बेला आफ्नो पार्टीले उठाएका एजेन्डाहरूको औचित्य अहिले आएर पुष्टि भएको दाबी पनि उहाँले गर्नुभयो।
राष्ट्रिय एकता र निर्वाचनको दायित्व वर्तमान राजनीतिक परिस्थितिलाई ‘तरल’ संज्ञा दिँदै प्रचण्डले अग्रगामी शक्तिहरूबीचको आपसी समझदारी र राष्ट्रिय एकतालाई आजको प्रमुख आवश्यकता बताउनुभएको छ। उहाँले भन्नुभयो, “वर्तमान सङ्कटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु र भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा राष्ट्रिय दायित्व हो।”
