काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ। आयोगले निर्वाचन क्षेत्रको भौगोलिक अवस्थिति, सुगमता र दुर्गमतालाई आधार मानी फरक-फरक खर्च सीमा तोकेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन क्षेत्रको संवेदनशीलता र क्षेत्रफलका आधारमा उम्मेदवारहरूलाई ५ वटा समूहमा विभाजन गरेर खर्चको सीमा तोकिएको छ। जसअन्तर्गत सुगम मानिने काठमाडौँका क्षेत्र नं १, ३, ६, ७ र ८ का उम्मेदवारहरूले अधिकतम २५ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्।
यसैगरी, भौगोलिक र प्राविधिक हिसाबले फरक रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि २७ लाख रुपैयाँ र ६५ वटा निर्वाचन क्षेत्रका लागि २९ लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ। बाँकी ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र सबैभन्दा दुर्गम तथा कठिन मानिएका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
पारदर्शिताका लागि बैंक खाता अनिवार्य निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन आयोगले उम्मेदवारहरूलाई अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ। उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्नेछ र ती अधिकारीको विस्तृत विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने प्रावधान राखिएको छ।
साथै, उम्मेदवारहरूले तोकिएको खर्चको सीमाभित्र रहेर मात्र चुनावी प्रचारप्रसार र अन्य गतिविधि गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो चुनावी खर्चको सम्पूर्ण विवरण निर्वाचन कार्यालयमा पेस गरिसक्नुपर्ने आयोगले स्पष्ट पारेको छ।
