काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची दर्ता गराएको छ। एमालेको निर्वाचन विभागका प्रमुख निरज आचार्यको नेतृत्वमा गएको टोलीले आयोगको कार्यालय पुगेर कूल ११० जना उम्मेदवारहरूको नामावली बुझाएको हो।
निर्वाचन आयोगमा सूची बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभाग प्रमुख आचार्यले एमालेले यसपटक तीन पुस्ताको उचित संयोजन गरेर सन्तुलित सूची तयार पारेको जानकारी दिनुभयो। उहाँका अनुसार पुराना अनुभवी नेतादेखि ४० वर्षमुनिका नयाँ र उदीयमान युवाहरूलाई समेत समेटिएको छ। एमालेले समावेशीतालाई ध्यान दिँदै अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, मधेशी, चेपाङ, पोडे र शेर्पा लगायतका सिमान्तकृत समुदायलाई समेत सूचीमा प्राथमिकता दिएको दाबी गरेको छ।
प्रस्तुत सूचीमा पुराना पुस्ताका नेताहरूका रूपमा रामबहादुर थापा ‘बादल’, गुरु बराल र पुष्प कँडेल लगायतका अनुहारहरू रहेका छन्। पिछडिएको क्षेत्रको तर्फबाट गोरखबहादुर बोगटी, लालबहादुर महतारा र लालबहादुर रावलसहित आठ जनालाई समेटिएको छ। नयाँ पुस्ताबाट कुरानुतु बुर्ताकोटी, नीता घतानी, भक्तकुमारी लामा, अनिता कन्दङवा र साजिदा सिद्धिकी जस्ता युवा अनुहारहरूले स्थान पाएका छन्।
त्यसैगरी, महिला नेतृहरूमा पद्मा अर्याल, टुका हमाल, निरू पाल, कोमल ओली, शान्ता चौधरी र भूमिका लिम्बु लगायतको नाम समावेश गरिएको छ। समावेशी प्रतिनिधित्वलाई थप सुदृढ बनाउन मिना बराम, मनकुमारी तितुङ, माया देवी पोडेनी, निर्मल दउला, रामपुकार दास तत्म, सन्त बहादुर चेपाङ र ईच्छा चौधरीलाई पनि समानुपातिक सूचीमा राखिएको छ। सूची बुझाउने क्रममा आचार्यले सरकारलाई भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन समेत आग्रह गर्नुभएको छ।
