वीरगंज । प्रगतिशील लोकतान्त्रिक पार्टी मधेस प्रदेशको एकता बैठकले १५१ सदस्यीय प्रदेश समिति गठन गर्दै विभिन्न जिल्लाका इन्चार्जहरू चयन गरेको छ। आइतबार वीरगञ्जको ब्रम्हचोकस्थित ओम होटल एन्ड पार्टी प्यालेसमा मधेस प्रदेश इन्चार्ज शिवचन्द्र कुशवाहाको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार र सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो।
पार्टीका केन्द्रीय अध्यक्ष परिषद् सदस्य सुरेन्द्र जैसवाल (अशोक) को प्रमुख आतिथ्य तथा पूर्वमन्त्री सत्यनारायण भगतको विशिष्ट आतिथ्यमा भएको उक्त बैठकले सन्तोष राज घिमिरे, हसमजान अन्सारी, सुरेश चौधरी, छठु चौधरी र सुमित कर्णलाई मधेस प्रदेश अध्यक्ष परिषद् सदस्यमा चयन गरेको छ।
यसैगरी, बैठकले प्रदेशका आठवटै जिल्लाका लागि इन्चार्जहरूको जिम्मेवारी समेत तोकेको छ। जसअनुसार पर्सामा अमिताभ बच्चन दास, बारामा रञ्जित पटेल (दिनेश), रौतहटमा जयप्रकाश जैसवाल, सर्लाहीमा मेघराज फुयाल, महोत्तरीमा राजेश सिंह, धनुषामा सुमित कर्ण, सिरहामा अरविन्द यादव र सप्तरीमा पुजन सिंहलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले गरिएको छ। सुरेश चौधरीद्वारा सञ्चालित सो कार्यक्रममा बालकृष्ण श्रेष्ठ लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।
