वीरगंज। जनता समाजवादी पार्टी (जसपा) नेपालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँगको एकीकरणपछि आज जनकपुरमा प्रदेशस्तरीय विशाल सभा गर्दैछ।
जनकपुरको तिरहुतिया गाछीमा बिहान ११ बजे हुने यस सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले सभामा २० हजारभन्दा बढी मानिस सहभागी गराएर शक्ति प्रदर्शन गर्ने तयारी गरे पनि तराईमा केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनसहभागिता प्रभावित हुन सक्ने देखिएको छ।
यसैबीच, पार्टी विभाजन भएर गएका पूर्वमन्त्री एवं सहअध्यक्ष रेनु यादवसहितको बहुमत केन्द्रीय समितिको टोली आजै जसपा नेपालमा फर्कने तयारीमा छ। काठमाडौँमा आयोजना हुने एक कार्यक्रममार्फत उनीहरू पुनः पार्टीमा समाहित हुने स्रोतले जनाएको छ।
एकातर्फ जनकपुर र वीरगञ्ज जस्ता मधेशका मुख्य सहरमा साङ्गठनिक सुदृढीकरणका लागि सभाहरू गर्ने र अर्कोतर्फ असन्तुष्ट पक्षलाई पार्टीमा फर्काउने अभियानले जसपा नेपालको राजनीतिक सक्रियता थप बढेको देखिन्छ।
