मोरङ । मोरङको केराबारीमा गाँजा ओसारपसार गरिरहेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार राति हवाई फायर गरेको छ। धनकुटाबाट भारततर्फ गाँजा लैजाँदै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले केराबारी-५ लाफा टोलमा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई घेराउ गरेको थियो।
प्रहरीले एम्बुलेन्स रोकेपछि त्यसमा सवार व्यक्तिहरू भाग्न खोज्दा स्थिति नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीले एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले एम्बुलेन्स चालक ३५ वर्षीय निश्चल राई र २० वर्षीय खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिन सफल भएको छ।
खानतलासीका क्रममा एम्बुलेन्सभित्र १६ वटा पोकामा प्याक गरिएको करिब ४८० किलो गाँजा फेला परेको छ। बरामद गाँजा र एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागूऔषध ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।
