काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा तीन लाख ५० हजार रुपैयाँ तोकेको छ।
निर्धारित सीमा अनुसार उम्मेदवारले गोष्ठी तथा अन्तरक्रियामा सबैभन्दा बढी एक लाख रुपैयाँ र सवारी साधनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्। त्यसैगरी कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न अनुमति दिइएको छ। प्रचारप्रसारका लागि छाप तथा विद्युतीय माध्यम र अन्य सामग्रीमा समान १४ हजार ५०० रुपैयाँका दरले बजेट छुट्याइएको छ। अन्य खर्चहरूमा ढुवानी र इन्धनका लागि १०–१० हजार तथा मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ तोकिएको छ।
निर्वाचनलाई पारदर्शी बनाउन आयोगले उम्मेदवारहरूलाई बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली अनिवार्य रूपमा सोही खाताबाट कारोबार गर्न निर्देशन दिएको छ। साथै, खर्च गर्ने प्रयोजनका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था समेत गरिएको छ।
