वीरगन्ज । वीरगन्जका प्रतिष्ठित शिक्षाविद् स्व. प्रा.डा. कुलानन्द लाल दासको स्मृतिमा उनका परिवारले सामाजिक कार्यका लागि अक्षयकोष स्थापना गरेको छ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्न र गम्भीर बिरामीहरूको उपचारमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।
ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक एवं चित्रगुप्त संरक्षक परिषद्का पूर्व अध्यक्ष समेत रहनुभएका स्व. डा. दासको चिरस्मृतिमा उनकी धर्मपत्नी रम्भा देवी दास र छोराहरू सुभाष कुमार दास तथा मनिष दासले सो रकम उपलब्ध गराएका हुन् ।
आईतबार आयोजित एक कार्यक्रमका बीच दाता परिवारका तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दास एवं कोषाध्यक्ष डा.आलोक चन्द्र दत्तलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
अक्षयकोष स्थापनाको सन्दर्भमा बोल्दै स्व. डा. दासका सुपुत्र मनिष दासले आफ्ना पिताजीको स्मृतिलाई जीवन्त राख्न र उहाँले देखाएको सामाजिक मार्गलाई अनुसरण गर्न यो कदम चालिएको बताए ।
उनका अनुसार स्व. डा. दास चित्रगुप्त समितिको स्थापनाकालदेखि नै सक्रिय रही अध्यक्षको जिम्मेवारी समेत वहन गर्नुभएकाले, उनकै कर्मथलो मार्फत समाजसेवा गर्ने आमाको इच्छा बमोजिम यो कोष खडा गरिएको हो।
समितिका अध्यक्ष महेश दासले दाता परिवारप्रति आभार व्यक्त गर्दै यो रकमबाट प्राप्त हुने ब्याजमार्फत आर्थिक रूपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र असाध्य रोगीहरूलाई औषधि उपचारमा सहयोग गरिने जानकारी दिए ।
उनले यस पवित्र कार्यमा सहभागी हुन र आफ्ना परिवारका सदस्यहरूको नाममा अक्षयकोष अभिवृद्धि गर्न अन्य इच्छुक दाताहरूलाई समेत अपिल गरेका छन् ।
