वीरगन्ज । मधेसमा पहिलो पटक मानव संशाधन तथा प्रशासनमा कार्यरत कर्मचारीहरुको पहिलो ज्ञान आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत एचआर एडमिनहरुले भोग्नु परेका समस्या, चुनौती र कानूनी व्यावस्थाको विषयमा आपसमा ज्ञान आदान प्रदान गर्ने र यसबाट प्रतिष्ठानहरुमा व्यावसायिक दक्षता बढाउने उद्देश्यले एचआर सोसाईटी मधेस प्रदेश र वीरगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा श्रम कार्यालय वीरगन्जका प्रमुख बलराम कुश्वाहाले बारा पर्सा औद्योगिक प्रष्ठिानहरुमा देखा परेका प्रशासनिक तथा व्यावस्थापकीय समस्या र कानूनी प्रावधानहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
त्यस्तै सूर्या नेपाल प्रालिका मानव संशाधन तथा प्रशासन प्रमुख सर्बिन श्रेष्ठले औद्योगिक करिडोरमा प्रशासनिक भूमिकामा रहेकाहरुले भोग्नु परेका समस्या र चुनौतीहरु र यसका समाधानका उपायहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालले एचआर सोसाईटीले औद्योगिक प्रतिष्ठानहरुका लागि अत्यन्त उपयोगी कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै यसले औद्योगिक प्रतिष्ठानहरुमा व्यावसायिक दक्षताको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले अहिले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सामूहिक सौदाबाजीमा निर्धारण गरिने पारिश्रमिकबीचको बुझाईमा फरक हूँदा समस्याहरु देखा परेकोले यसको आपसमा संवाद र छलफलबाट समाधान निकाल्नुपर्नेमा जोड दिए ।
त्यसको लागि प्रतिष्ठानमा कार्यरत एचआर र एडमिनहरुको भूमिका महत्वपूर्ण हुने बताए । सरकारले ल्याएको बोनस ऐन कार्यान्वयनमा औद्योगिक प्रतिष्ठानहरु जान खोज्दा मजदुर युनियनहरुले विवाद खडा गरेको भन्दै त्यसले सम्पूर्ण औद्योगिक क्षेत्रमा नै नकारात्मक सन्देश जानसक्ने जोखिमतर्फ सचेत हुन आग्रह गरे ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिष लाठको अध्यक्षतमा भएको कार्यक्रममा एचआर सोसाईटी मधेस प्रदेशका संयोजक अनिल जैसवालले एचआस समाजको मधेस प्रदेशमा संगठन विस्तारको विषयमा जानकारी दिए ।
स्वागत मन्तव्यकै क्रममा जयसवालले यस्ता कार्यक्रम काठमाडौं केन्द्रीत मात्रै हुने गरेकोमा पहिलो पटक वीरगन्जमा मधेस प्रदेशलाई नै केन्द्रीत गरेर ल्याईएको बताउदै वीरगन्ज उद्योग वाणिज्य संघले दिएको साथ र सहयोगका लागि धन्यवाद दिए ।
मेराजुल हवारीले सञ्चालन गरेको कार्यक्रममा बारा पर्सा औद्योगिक करिडोरका उद्योग प्रतिष्ठान, सेवामूलक उद्योगका प्रशासन प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

